महन्थ र उपेन्द्रलाई ठामका ठाम हराउने राजेन्द्र महतोको षडयन्त्रको खुलासा

काठमाडौं, मंसिर १५ गते ।

केपी ओलीको निर्देशनमा राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र चुनावी तालमेलमा रहेका पार्टी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउने षडयन्त्र गरेको खुलासा भएको छ ।

नेपालपाना अनलाइनका अनुसार एमाले अध्यक्ष ओलीले मधेशका दुवै दिग्गज नेता चुनावमा पराजित भए ‘तपाईं नै मधेशको मसिहा’ हुने सपना देखाउँदै दुवै नेतालाई हराउन महतोमार्फत उर्दी जारी गर्न लगाएका हुन् । महतो समर्थक कर्मचारीदेखि सञ्चारकर्मीसम्मले सुरुदेखि नै महन्थ ठाकुर उम्मेदवार बनेको निर्वाचन क्षेत्र महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार चन्देश्वर झा र सप्तरी ३ मा स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरका लागि मत मागिरहेका छन् ।

‘महतोले राजपा–फोरम तालमेलमा सिट बाँडफाँट भएपछि राजपाकै नेता रहेका धनाढ्य चन्देश्वर र जयप्रकाशलाई लिएर ओली निवास बालकोटमा भेटवार्ता गराएका थिए । स्वतन्त्र रूपमै चुनाव लडे पनि महतोजस्तो वाम गठबन्धनको सहयोग रहने र महन्थ तथा उपेन्द्रलाई हराएपछि नेकपा एमालेमा सम्मानजनक ढंगले प्रवेश गराउने र सम्भावित सरकारमा मन्त्रीसमेत बनाउने आश्वासन दिलाए,’ महतोसँग असन्तुष्ट राजपाका एक नेताले बताए ।

धनुषा क्षेत्र नं. ३ बाट ओलीकै ग्रयान्ड डिजाइनमा उम्मेदवार बनेका महतोका लागि एमालेले सबैभन्दा कमजोर र मतको दृष्टिले निधिकै मत प्रभावित गर्न सक्ने कनिष्ठ राजनीतिकर्मी नेकपा माओवादी केन्द्का रामसिँह यादवलाई वाम गठबन्भधनबाट उम्मेदवार बनाएका थिए । त्यसअघि वाम गठबन्धनले जारी गरेको उम्मेदवारको आधिकारिक सूचीमा धनुषा ३ एमालेको भागमा परेको थियो । एमालेले त्यहाँ आफ्ना परम्परागत उम्मेदवार जुली महतोलाई ब्याक गरी कुनै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको थियो । तर, महतोलाई सहयोग पुग्नेगरी एमालेले अन्तिममा यादव थरका उम्मेदवार उठायो ।

महन्थ र उपेन्द्रलाई चुनाव हराउन महतोले प्लान्ट गरेका उम्मेदवार राजपामा कुनै बेला अध्यक्ष ठाकुर निकट रहेको र चुनावी खर्च धान्न आफै सक्षम भएकाले महतोले राजपा संयोजक ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउन तिनै व्यक्तिलाई प्रयोग गरेको सुत्रको भनाइ छ ।

‘चुनावी रणनीतिमा एमाले सफल भएको छ,’ एमालेका एक वरिष्ठ नेताले भने, ‘राजेन्द्र महतोको मुखमा बुजो लगाएपछि निकै कठिन मानिएको दुई नम्बर प्रदेशमा वाम गठबन्धनको सहज प्रवेश भएको छ । राजेन्द्र महतोलाई कमरेड ओलीले म्यानेज नगर्नुभएको भए महतो चर्का स्वरमा कराएर एमालेलाई निकै सकस पार्थे । अहिले ठीक विपरीत भएको छ । उनी आफ्नो सम्पूर्ण ऊर्जा कांग्रेसको विरुद्धमा खन्याएका छन् ।’

ती नेताका अनुसार मधेशी जनताले निरंकुश र मधेशविरोधी भन्ने ओली सरकार गिराउन गेम चेन्जरको भूमिकामा रहेका विमलेन्द्र निधि र पाश्र्वमा रहेको मानिएको भारतलाई परास्त गर्न कुनै बेला भारतकै गुर्गा मानिएका महतोलाई नै अघि सार्ने रणनीतिमा मलेठ घटना गराइएको जानकारी पनि दिए । नेता निधिले बिहीबार दिएको अन्तर्वार्तामा केप ीओली र महतोकै साँठगाँठमा मलेठ घटना घटाइएको बताएका छन् । ‘राजेन्द्र महतोलाई धनुषामा चुनाव लडाएर ओली सरकार गिराउने रिसिइबी साँध्न मलेठमा सभा गर्नु पूर्व नै यो रणनीतिक तयारी भएको थियो । जसको प्रभाव चुनावमा देखिँदेछ,’ एक जानकारले बताए ।

आन्दोलनका बेला काठमाडौंका केही सञ्चारकर्मीलाई धनुषा ३ मा पठाएर ‘एन्टि विमल’ सेन्टिमेन्ट अध्ययन गर्न लगाएका महतोले उही बेलादेखि जनकपुर पस्ने तयारी थालेका थिए । उनले जेलमा रहेका सञ्जय साहले वाम गठबन्धनको सरकार बनेपछि छुटाइदिने प्रलोभन दिँदै उनलाई पनि आफ्नो साथ लिने प्रयास गरेका थिए । तर, साहले आफूलाई फसाउने व्यक्ति भन्दै महतोको प्रस्तावलाई ठाडै अस्वीकार गरी अहिले निधिलाई समर्थन गर्दैछन् ।

एमालेका ती नेताका अनुसार मधेशवादी दलमा महन्थ ठाकुर सर्वमान्य रहेको र तुलनात्मक रूपमा उपेन्द्र सैद्धान्तिक भएकाले मधेशमा दहिच्युरे र सत्ताका लागि जे पनि गर्न सक्ने नेता महतो नै भएको ठहर गरी भविष्यमा मधेश फयाक्टर व्वस्थापन हुने सोचले महतोप्रति विश्वास जनाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागले स्रोत नखुलेको सम्पत्ति छानबिनका लागि राजेन्द्र महतोलाई प्राथमिक सूचीमा राखेकाले पनि ओलीको च्वाइस महतो भएका हुन् । एमालेका ती नेताको भनाइ छ, ‘ठाकुर र यादवलाई डगाउन सकिँदैन । तर, नागरिकता र बेनामी सम्पत्ति छानबिनका कुरालाई लिएर महतो कुनै बेला पनि गल्न सक्ने भएकाले उनैलाई दुई नम्बर प्रदेशको मोहरा बनाइएको हो ।

 

About the Author: Rakesh Bikram

Leave a Reply

Your email address will not be published. Required fields are marked *